डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ। केही दिनअघि अमेरिकामा देखिएको अोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ। प्राय: देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट अाएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हाे ।
इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ। त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकीमा भाइरस देखिएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। बोत्स्वानामा कम्तिमा १९ जनामा नयाँ भेरियन्ट देखिएको छ। त्यस्तै, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पाँच जनामा कोभिड देखिएको छ। नयाँ भेरियन्टको प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्। अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे अायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ।
यसैंबीच चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।
ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो ।
चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्छ ।
ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चिन्ताको विषय बनेका उत्परिवर्तित भेरियन्टविरुद्ध प्रभावकारी रुपमा काम गर्ने चिनियाँ वैज्ञानिकको दाबी छ ।
मानव कोष प्रत्यारोपण गरिएका मुसामा भिभो परीक्षण गरिएको थियो । ‘३५बी५’ एन्टिबडीले भारतमा भेटिएको निकै संक्रामक डेल्टा भेरियन्टविरुद्ध समेत काम गर्ने वैज्ञानिकले बताएका छन् ।
‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप (एन्टिबडी जोडिने एन्टिजेन अणुको भाग) माथि हमला गर्दै ३५बी५ एन्टिबडीले कोभिड-१९ लाई सखाप पार्छ’, अध्ययनमा भनिएको छ । अर्थात् अर्को शब्दमा भन्दा यो एन्टिबडीले उत्परिवर्तन प्रक्रियाका क्रममा कुनै फेरबदल नहुने भाइरसको विशिष्ट भागलाई निशाना बनाउने क्षमता प्रदर्शन गरेको छ ।
चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ एन्टिबडीले निशाना बनाउने एन्टिजेन हालै पहिचान गरिएको ओमिक्रोन भेरियन्टमा पनि रहेको अनुसन्धानकर्ताको भनाइ छ ।त्यस्तै, वैज्ञानिकहरूले पछिल्लो अनुसन्धानको निष्कर्षलाई कोभिड-१९ विरुद्ध सर्वव्यापी खोप विकासमा उपयोग गर्न सकिने तर्क गरेका छन् ।
चिनियाँ वैज्ञानिको पछिल्लो अनुसन्धानले विशेषगरी उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिइरहेको अवस्थामा महत्व राख्ने बताइएको छ ।